Information about the journey of pregnancy within the Japanese context


Japan Sandesh

विश्वका विभिन्न देशहरु मध्ये जापान पनि मातृशिशुको लागि एक सुरक्षित राष्ट्र मानिन्छ।पछिल्लो समय जापानमा विभिन्न भिसामा गरी करिब २९ लाख भन्दा बढि विदेशी नागरिक रहेको जापानको पछिल्लो तथ्याङ्कले बताएको छ।गर्भावस्था आफैंमा एउटा संवेदनशील अनि विशेष अवस्था हो।यस अवस्थामा नारीको आमा बन्ने खुशी मात्र जोडिएको हुँदैन, गर्भसँग सामाजिक ,पारिवारिक र आत्मीयसम्बन्ध पनि जोडिएको हुन्छ ।जापानमा गर्भवती महिलाको लागि सुरक्षित ठानिएतापनि विदेशी महिलहरुलाई भने भाषागत समस्याको कारण पनि कठिन हुने गरेको पाइन्छ।विशेषगरी जापानामा गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु तथा आवश्यक प्रकृयाहरु।

सुरुवाति प्रकृया 

सबैभन्दा पहिले आफु बस्ने नजिकको क्लिनिक तथा अस्पतालमा चेकअप गर्न जानुपर्दछ भने कुनै कुनै अस्पतालले क्लिनिकबाट रिफर गरेको अवस्थामा मात्रै चेकअप गर्ने गर्दछ।चेकअप पछि आफु गर्भवती भएको अवस्थामा नजिकको वडा कार्यलय कुयाकुस्यो (区役所)जानुपर्दछ।वडा कार्यलयमा गर्भावस्थाको सुचना निन्सीन तोदोकेको (妊娠届)निवेदन दिनुपर्दछ र निवेदन पश्चात कुयाकुस्योले मातृशिशु स्वास्थ्य पुस्तिका बोसी केन्कोउ तेच्यो (母子健康手帳र बोसीतेच्यो (母子手帳) मातृशिशु पुस्तिका प्रदान गर्दछ ।बोसीकेन्कोउ तेच्यो पुस्तिकामा आमा र शिशुको स्वास्थ्य अवस्थाबारे ध्यान दिनुपर्ने विभिन्न जानकारीहरु लेखिएको हुन्छ भने बोसी तेच्यो अस्पताल जादा सङ्गै लिएर जानुपर्दछ साथै सवारी यात्रा गर्दा आफुले प्रयोग गर्ने झोलामा मातृशिशु लेखेको टोक्कन दिन्छ उक्त टोक्कन प्रयोग गरियो भने ट्रेन, बसमा यात्रा गर्दा युसेन सिट(Priority seat) प्रयोग गर्न पनि सकिन्छ।अस्पतालमा स्वास्थ्य चेक गर्दा लाग्ने रकम तिर्नको लागि करिब १४ पाना फरक फरक रकमको फर्म दिन्छ र त्यसमा बारकोड पेपर पनि सङ्गै दिन्छ उक्त बारकोड पेपर टासेर रकम तिर्न सकिन्छ।त्यसपछि क्रमश आफ्नो चेकअप फलोमा गइराख्नुपर्ने हुन्छ कहिलेकहीँ उक्त फर्मको रकम भन्दा बढि पनि लाग्न सक्दछ र बच्चा जन्मिसकेपछि खोपको लागि पनि सङ्गै फर्म भएको किताब दिन्छ। सकेसम्म आफु बसेको नजिक प्रस्तुति विभाग सेवा भएको अस्पताल भयो भने सुरु देखि नै अन्त्यसम्म एउटै अस्पतालमा चेक हुने भएकोले आफुलाई केहि सहज हुन्छ तर आफु बसेको ठाँउ नजिक प्रस्तुति विभाग भएको अस्पताल छैन भने केहि महिना करिब ६ देखि ७ महिना सम्म क्लिनिक मै चेकअप गरिराख्ने र उक्त क्लिनिकको डाक्टरको सल्लाह अनुसार प्रस्तुति विभाग भएको अस्पतालमा रिफर हुनुपर्दछ।गर्भवती महिलालाई भाषाको समस्या छ भने आफ्नो श्रीमान अथवा अन्य नजिकको भाषा जान्ने व्यक्तिलाई सङ्गै लिएर जान पनि सकिन्छ र जापानीज भाषा नबुझेको अवस्थामा अङ्ग्रेजी भाषाको पनि सुविधा रहेको हुन्छ।डाक्टरले भनेका कुराहरु र सुझाव सल्लाहरु बुझ्न सकिएन भने झन समस्या हुनसक्दछ।त्यसैले यस कुरामा विशेष ध्यान दिन पनि जरुरी हुन्छ।सामान्य रुपमा गर्वस्थालाई ३ चरणमा लिने गरिन्छ।

पहिलो चरण सुरु देखि १२ हप्ता

गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ।गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चरणको रुपमा लिने गरिन्छ।गर्भवति आमालाई यो अवधिमा निकै खतरा हुने गर्छ।यो अवधिमा भ्रुणको राम्रो विकाश र पछि बच्चामा कुनै शारीरिक अपाङ्ग नहोस भनेर गर्भवति आमाले फोलिक एसिड पनि लिने गरेको पाईन्छ।
यस अवस्थामा वडा कार्यलयबाट प्राप्त कागजालाई क्लिनिक तथा अस्पतालमा लिएर जानुपर्दछ। सुरुको १२ हप्तासम्म २ हप्तामा १पटक अनिवार्य रुपमा चेकअपको लागि अस्पताल जानुपर्ने हुन्छ।यो चरणमा महिलालाई गार्हो हुने र एकदमै खतरा पनि हुने भएकोले धेरै लामोसमयसम्म गार्हो काम र बढि तौल भएका सामान उठाउने राख्ने गर्नुहुदैन।महिलालाई यस अवस्थामा वान्ता हुने सम्भावना हुने हुदाँ बाहिर हिड्दा एकदमै ख्याल गर्नुपर्दछ।यस्तो कि त पोषण तत्वको सन्तुलन नमिलेर हुन्छ की बढी हर्मोनको कारणले पनि हुने गर्दछ।

दोस्रो चरण १३ देखि २८ सम्म

यो चरणमा गर्भवती महिला अत्यन्तै संयमित भएर अघि बढ्नुपर्ने हुन्छ तर सुरुको १२ हप्ता जति बच्चा तुहिने वा खेर जाने सम्भावना भनेन्युन रहेको हुन्छ।यस अवधिमा अधिकांश गर्भवती महिलाहरुमा उच्च रक्तचाप बढ्ने समस्या हुन्छ।जुन आमा र बच्चा दुवैको लागि खतरा हो त्यसैले घरमा प्रेसर नाप्ने मेसिन लिएर दैनिक चेक गरि उक्त रेकर्ड अस्पताल जादाँ डाक्टरलाइ बुझाउनुपर्द्छ।यतिबेला महिलाको पेटभित्र बच्चा पनि हुर्कदैँ जाने गर्दछ र गर्भवति महिलालाई बढि पोषिलोयुक्त खाना खान पनि आवश्यक पर्दछ।१३ हप्तादेखि २८हप्तासम्म १ महिनामा १ पटक अस्पताल जानुपर्ने हुन्छ।कहिलेकहीँ बढि गार्हो भयो भने अस्पतालमा फोन गरेर पनि जान सकिन्छ।यो अवस्थामा पेटमा बच्चा हुर्कदै जाने भएकोले चल्न पनि थाल्दछ।कहिलेकहीँ बच्चा कम वा बढी चल्यो भने जाँच गर्न पनि जरुरी हुन्छ ।कहिलेकहीँ खानामा बढि पिरो प्रयोग भएको अवस्थामा पनि बच्चा अलिक धेरै चल्न सक्दछ त्यसैले अत्याधिक पिरो प्रयोग गरेको खाना खानु राम्रो हुदैँन।

तेस्रो चरण/ २९ हप्ता बाट शिशुको जन्म

यस चरणमा महिला गर्भवती भएको २९ हप्तादेखि शिशु जन्मिदा सम्म अस्पतालमा महिनामा २ पटक अनिवार्य रुपमा चेकअपको लागि जानुपर्ने हुन्छ।यो अवस्थामा बच्चा खेर जाने उच्च सम्भावना भएको कारणले गर्भवती महिला निकै संयमित रहन पनि जरुरी हुन्छ।गर्भवती महिलाको पेटभित्र बच्चाको तौल बढ्दै जाने हुनाले आमालाई केहि असहज स्थिति हुन्छ भने यो अवस्थामा जति सक्दो हिँडडुल गर्न पनि आवश्यक हुन्छ जसले गर्दा पाठेघरको मुखलाई खुकुलो बनाउन सहयोग पुर्याउदछ।
गर्भवती महिलालाई कुयाकुस्योबाट बच्चा जन्माउदा हुन सक्ने समस्याहरु र बच्चा जन्माईसकेपछि शिशुको हेरचाह सम्बन्धि जानकारी गराउनको लागि वडा कार्यलय र अस्पतालको सहयोगमा आमा र अभिभावकलाई तालिममा सहभागी गराउने गर्दछ।अन्तिम चरणको अवस्थामा करिब ३६ हप्ता क्रस भएसि जतिबेला पनि बच्चा जन्मिने सम्भवना हुने भएकोले सकेसम्म बच्चाको लागि आवश्यक सामान र हस्पिटलमा आफुलाई आवश्यक पर्ने सामान तयारी गरेर राख्नुपर्दछ।गर्भवती महिलालाई कुनै लक्षण देखिएमा पेट धेरै दुख्ने,पाठेघरबाट सङ्लो पातलो पानी वा फोहोर पानी बग्ने ,बच्चा लामो समयसम्म पेटमा नचल्ने जस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा फोन गर्नुपर्दछ।शिशु जन्मिनु भन्दा केहि दिन विभिन्न लक्षण देखा पर्नसाथ अस्पतालले गर्भवती महिलालाई भर्ना गरि अस्पताल मै राख्दछ र कोरोनको कारणले गर्दा अन्य व्यक्तिलाई साथमा बस्न नदिन पनि सक्दछ।सामन्य तरिकाले अथवा अपरेसन गरेर शिशु जन्मिएता पनि करिब ५ दिन देखि १० दिन सम्म अस्पताल बस्दा सरकारले प्रसव र बाल हेरचाह भत्ताबाट दिने ४२ मान रकमले लगभग अस्पताल बस्दा लाग्ने खर्चको रकम तिर्न पुग्दछ।साथै यसलाई अस्पतालबाट लिने सेवा सुविधा र क्षेत्रले पनि फरक पार्दछ यदि उक्त रकम पुरै खर्च नभएमा फिर्ता दिन्छ।आगामी आर्थिक वर्षबाट ४२ बाट ५० मान पुर्याउने योजना जापानका प्रधानमन्त्री किसिदाले केहि अघि दिन मात्र घोषणा गरेका थिए।जुन रकमलाई स्युस्सान इकुजि इचिजि भनिन्छ।

बच्चा जन्मिसकेपछि डकुमेन्ट प्रकृया
सर्वप्रथम अस्पतालले दिएको स्युसान पेपर १४ दिन भित्रमा कुयाकुस्योमा लिएर जानुपर्दछ भने साथमा बुवाआमाको जाईर्‍युउ कार्ड र बोसि तेच्यो पनि लिएर जानुपर्दछ र अभिभावक अनि बच्चाको सम्पुर्ण जानाकारी सहित फर्म भर्नुपर्दछ त्यति गरिसकेपछि बच्चाको जन्मदर्ताको प्रकिया सकिन्छ।त्यसपछि बालबालिकाले पाउने भत्ता जिदोउ तेआते प्रत्येक महिनाको १५ हजार रकमको लागि फर्म भरेर एकजना
अभिभावको बैङ्क कार्ड दिएपछि ४/४ महिनामा खातामा रकम आउँछ तर वडा कार्यलय अनुसार फरक पनि हुन सक्दछ ।हस्पिटल जादाँ स्योनि इरियोउ स्यो को लागि बच्चाको होकेन कार्ड बुझाउनु पर्दछ यदि स्याकाई होकेनमा हो भने कम्पनीबाट बनाउनुपर्दछ। बच्चाको माइ नम्बर कार्डको लागि जाईर्‍युउ कार्ड आवश्यक पर्ने भएकोले इमिग्रेसन गएर अप्लाई गरेपछि कार्ड प्राप्त भएसि मात्र माइ नम्बर कार्डको प्रकृया अघि बढाउन सकिन्छ जसको लागि कुयाकुस्योले घरमा नै फर्म पठाईदिन्छ त्यसलाई अनलाईन बाट पनि अप्लाई गर्न सकिन्छ अथवा पेपरमा सम्पुर्ण जानाकारीको बारेमा फर्म फिल अप गरेर पनि पठाउन सकिन्छ।

बच्चाको जाईर्‍युउ कार्डको लागि अध्यागमन प्रकृया

शिशु जन्मेको १ महिना भित्रमा अप्लाई गर्नुपर्ने हुन्छ जसको लागि बुवा आमा र उक्त शिशु सहितको ज्युमिनह्योउ , कम्पनीमा कार्यरत वाकुनै व्यवसायमा आबद्ध व्यक्तिको अन्तिम वर्षको कर भुक्तानि प्रमाणपत्र काजेइ नोउजेइ स्योउमेइस्योउ (課税納税証明書), कम्पनीबाट प्राप्त जाइसोकु स्योउमेस्योउ (在職証明書 ,certificate of employment)र बच्चाको जन्मदर्ता लिएर फर्म भरेर इमिग्रेसनमा बुझाउनु पर्द्छ।
फर्म भर्दा अभिभावकको सम्पुर्ण जानकारी सहित विवाह दर्ता भएको मिति पनि लेख्नुपर्ने हुन्छ।अभिभावकले जापान सरकारलाई तिर्नुपर्ने बीमा शुल्क र करको रकम बुझाउन बाकीँ रहेको अवस्थामा भने कहिलेकहीँ चुइका पनि पठाउन सक्दछ् त्यसैले भिसा अप्लाई गर्नु भन्दा पहिले नै तिर्नुपर्दछ।

जापानमा हरेक वस्तु तथा सेवाहरुको मुल्य उच्च रहेको हुनाले सर्वप्रथम आर्थिक तवरबाट बलियो हुनु जरुरी पर्दछ एउटा सानोपरिवारको लागि पनि एकजनाले कमाएको आम्दानी लगभग खान बस्न र अन्य किसिमका खर्चमै सकिने हुन्छ त्यसैले बच्चा जन्माउनेयोजना बनाउदैँ गर्दा श्रीमान श्रीमती विच हरेक योजना र भैपरी रुपमा आउन सक्ने आर्थिक समस्यासँग जुध्न सक्ने वा समाधानको लागि केहि रकम बचत हुन पनि जरुरी हुन्छ।केहि महिला दिदिबहिनीहरुले आफ्नो स्वास्थ्य अनुकुल पनि सकि नसकि गार्हो काम लामो समयसम्म गरेको पनि पाईन्छ साथै बच्चा जन्मिसकेपछि पनि केहि समय काम गर्न नसकिने र खर्चको दर पनि पहिलेको अनुपातमा बढ्ने भएकोले यसबारे पुर्वयोजना बनाएर अघि बढ्न पनि जरुरी देखिन्छ।मातृशिशु हेरचाह तथा स्याहार सुसारका लागि छोटो समयको लागि भिसा पाउन पनि सजिलो हुने भएकोले अभिभावक तथा आफन्तलाई बोलाउन सकियो भने पनि धेरै सहज हुन्छ।त्यसैले जापानमा शिशु जन्माउने योजना बनाउदैँ गर्दा सकेसम्म सबै कुरालाई गम्भिर रुपमा सोचेर अघि बढ्न जरुरी देखिन्छ।

लेखक:-
मोहन कुवर
जापान ओसाका

Post a Comment

0 Comments